Other Notice


नेपाल राजपत्र प्रकाशन भएको २४ घण्टा भित्र वेभ साइटमा राख्ने कार्यको शुभारम्भ

Submit Date: 2016-12-18

मिति  २०७३।८।२६
 
मुद्रण विभागले जनताको सुसूचित हुने अधिकारको सुनिश्चितता गर्नको लागि विभागबाट प्रकाशन हुने नेपाल राजपत्रलाई प्रकाशन भएको २४ घण्टा भित्र विभागको वेभ साइटमा प्रकाशन गर्ने कार्यको मिति २०७३।८।२६ गते शुभारम्भ गरेको छ । उक्त कार्यको शुभारम्भ सूचना तथा संचार मन्त्रालयको हलमा एक समारोहका बिच माननीय सूचना तथा संचार मन्त्री श्री सुरेन्द्र कुमार कार्किज्यूले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि माननीय मन्त्रीज्यूले विभागको कार्यस्तरमा वृद्धि गरी कर्मचारीहरुलाई आवश्यक तालीम दिनुका साथै छपाई यन्त्र ल्याएर नोट र टिकट नेपालमै छाप्ने व्यवस्था मिलाउने तयारीमा मन्त्रालय लागेको जानकारी दिनु भयो ।
मुद्रण विभागबाट नेपाल राजपत्र प्रकाशन भएको २४ घण्टा भित्रै वेभ साइटमा राख्ने प्रारम्भ हुनु थप महत्वपूर्ण कार्य भएको बताउँदै सूचना र संचारका माध्यम मार्फत कुनै पनि तथ्यलाई छिटो जानकारी गराएर डिजिटल नेपाल बनाउने अभियानमा सहयोगको लागि पहल गर्ने मन्त्रीज्यूको भनाई थियो ।
उक्त अवसरमा मन्त्रालयका सचिव श्री दिनेश कुमार थपलियाज्युले सुरक्षण मुद्रणको रुपमा विभागलाई स्तरोन्नती गरी दुई अर्व रुपयाँ वार्षिक विदेशिनबाट बचत गर्न सकिने बताउँनु भयो । मुद्रणको परम्परागत प्रणालीमा सुधार गर्नुपर्ने भन्दै विभागले गरेको यस नेपाल राजपत्रलाई प्रकाशन भएको २४ घण्टा भित्र वेभ साइटमा प्रकाशन गर्ने कार्यको लागि विभागलाई धन्यवाद दिनु हुदैँ यसलाई अझै कम समय १२ घण्टा भित्रै वेभ साइटमा राख्न पहल गरिनुपर्ने सचिव थपलियाले बताउनु भयो ।
त्यसैगरि विभागका महानिर्देशक श्री शंकर अर्यालज्यूले मुद्रण विभागबाट २००८ सालदेखि हालसम्म नै प्रकाशन भएका नेपाल राजपत्रलाई विभागको वेभसाइटमा राखि सकिएको र अब आउने राजपत्र पनि प्रकाशन भएको २४ घण्टा भित्रै वेभसाइटमा प्रकाशन गरिने कुराको जानकारी दिदैँ विभागको स्तरोन्नती एवम् सुधारका लागि मन्त्रालयले स्रोतसाधन सहित ठोस निर्णय गरिदिनु पर्ने बताउनु भयो । वि.सं.२००८ साल देखि प्रकाशन शुरु भएको नेपाल राजपत्रलाई प्रकाशन भएको २४ घण्टाभित्र आईतवार देखि विभागको www.dop.gov.np मा राख्नन थालिएको छ ।